नारद कोहार
तौलिहवा, असोज ३ गते। कपिलवस्तुमा संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ।सो अवसरमा कपिलवस्तु अस्पतालका विरामी तथा बाल मन्दिरमा रहेका बालबालिकालाई फलफूल वितरण गरिएको हो।सो अवसरमा बाल मन्दिरमा रहेका २९ जना बालबालिका र अस्पतालका ३६ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
त्यस्तै मंगलबार कपिलवस्तु अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।उक्त कार्यक्रममा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत २६ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै मंगलबार कपिलवस्तु नगरपालिकाको सभाहलमा नेपालको संविधानमा मौलिक हकको कार्यान्वयनको अवस्था विषयक मावि स्तरीय अन्तरपालिका वक्तृत्वकला प्रतियोगिता गरिएको संविधान दिवस २०८० समारोह समिति कपिलवस्तुका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताउनुभयो।प्रतियोगितामा कपिलवस्तु जिल्लाका विभिन्न ६ स्थानीय तहका ११ जना छात्र छात्राहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा कनकमुनी माध्यमिक विद्यालयका छात्रा मूना गिरी प्रथम, न्यू शिशु वोर्डिङ स्कुलका छात्र रविकान्त मिश्र द्वितिय, माध्यमिक विद्यालय इमिलियाका छात्रा दिपिका आचार्य तृतीय, र न्यू शिशु बोर्डिङ स्कुलका छात्रा सन्ध्या यादवले सान्तवना स्थान हासिल गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम भएकालाई पाँच हजार, द्वितियलाई चार हजार, तृतीयलाई तीन हजार र सान्त्वना भएकालाई दुई हजार नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।